नेपालको अग्रणी बैंक नबिल बैंकले युरो मनी म्यागजिनद्वारा प्रदान गरिएको ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ।
युरो मनी म्यागजिनले बैंकिङ क्षेत्रमा उत्कृष्ट कामको मूल्याङ्कन गर्दै वार्षिक रुपमा दिगो बैंकिङमा योगदान दिने बैंकलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान गर्दछ। नबिलले ग्राहक सेवा, प्रविधिको प्रयोग, वातावरणीय र सामाजिक पहल, दिगोपन र सुशासनमा गरेको योगदानका आधारमा यो सम्मान प्राप्त गरेको हो।
बैंकले विगत पाँच वर्षदेखि नेपालका दिगो विकास लक्ष्य (SDG) अनुसार आफ्नो कारोवार संचालन गर्दै वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकार संरक्षण र नैतिक सुशासनमा सक्रिय भूमिका खेलेको छ। यस क्रममा नबिलले कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङ प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा केन्द्रित हुँदै आएको छ।
युरो मनी म्यागजिनले बैंकिङ क्षेत्रको लामो अध्ययन र विश्लेषणपछि नबिललाई यो अवार्डद्वारा सम्मान गरेको हो। बैंकले यसअघि पनि सन् २०१०, २०२०, २०२१, २०२२ र २०२४ मा विभिन्न विधामा अवार्ड प्राप्त गरिसकेको छ।
नेपालमा २५ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नयाँ सेवा र दिगो अभ्यासमार्फत अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।