विगत दुई वर्षदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो व्यवसायमाथि निरन्तर दमन गरेको भन्दै कवाडी व्यवसायीहरूले महानगरपालिकाको कार्यालय घेराउ गर्ने घोषणा गरेका छन्। कवाडी व्यवसायी समाज नेपालले प्रेस विज्ञप्ति जारी गर्दै महानगरको ‘अन्यायपूर्ण ज्यादती’ विरुद्ध आजदेखि आन्दोलन सुरु गर्ने बताएका छन्।
व्यवसायी तथा सङ्कलक मजदुरहरूले आज साढे १२ बजे महानगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छन्। उनीहरूले महानगर प्रहरीले व्यवसायी तथा सङ्कलक मजदुरमाथि कुटपिट, सामान जफत, संरचना भत्काउने, र शारीरिक तथा मानसिक चोट पुर्याउने जस्ता अमानवीय कार्य गरेको गम्भीर आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, “महानगर प्रहरीको कुटपिटका कारण कवाडी सङ्कलक र मजदुरको टाउको फुट्ने, अङ्गभङ्ग हुने, र घोर मानसिक त्रास सिर्जना हुने घटना बारम्बार दोहोरिँदै आएको छ।”
व्यवसायीहरूको आरोप अनुसार, महानगर प्रमुख बालेन्द्र शाहले गरिब, श्रमिक र साना व्यवसायीलाई नियोजित रूपमै काठमाडौंबाट हटाउन खोजेको छ। उनीहरूले व्यवसायी र मजदुरमाथि भइरहेका कुटपिट, अपहरण र संरचना भत्काउने कार्य तत्काल रोक्न, संलग्न महानगर प्रहरीले कानुनी कारबाही भोग्न, र व्यवसायी तथा मजदुरको जिउधनको सुरक्षाका लागि सरकारले तत्काल हस्तक्षेप गर्न माग गरेका छन्।
महानगरपालिकाले अव्यवस्थित कवाडी संकलन केन्द्रहरू हटाउने अभियान चलाउँदा व्यवसायी र महानगरबीच लामो समयदेखि तनाव सिर्जना हुँदै आएको छ। व्यवसायीहरूले आफूहरूले फोहोरलाई कच्चा पदार्थमा परिणत गरेर महानगरलाई सफा राख्न मद्दत गरिरहेको बताउँदै आएका छन् भने महानगरले दर्ताविहीन र अव्यवस्थित व्यवसाय हटाउनु आफ्नो जिम्मेवारी भएको बताउँदै आएको छ।