सवारी साधनको सौन्दर्य र आधुनिक प्रविधिको उत्सव, १७औँ संस्करणको ‘नाडा अटो शो–२०२५’ आइतबार भृकुटीमण्डपमा भव्य रूपमा सम्पन्न भएको छ। ६ दिनसम्म चलेको प्रदर्शनीमा १ लाख ६० हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ३ गतेदेखि आयोजना गरेको मेलामा १३५ स्टल राखिएका थिए, जसमा ३० नयाँ सवारी मोडेल पहिलोपटक प्रदर्शित भए। यी मोडेलले उपभोक्तालाई नयाँ प्रविधि र आगामी बजारको ट्रेन्ड बुझाउने संकेत दिएका छन्।
यस वर्षको अटो शोमा सवारी बुकिङ्ग पनि रेकर्ड कायम गरेको छ। नाडाका अनुसार ४ हजारभन्दा बढी सवारी बुकिङ्ग भएका छन्, जुन गत वर्षको ३ हजार ८०० युनिटभन्दा बढी हो।
ब्रान्डअनुसार बुकिङ्ग यस प्रकार भएको छ: बीवाइडी १,४०० युनिट, टाटा ८०० युनिट, नामि ८१२ युनिट, डिपल ६०७ युनिट, जिली ग्यालेक्सी १८७ युनिट, सेरेस १०३ युनिट, जिनपेङ (नयाँ ब्रान्ड) १०२ युनिट र सिजी एक्सपेङ ७० युनिट।
दुईपांग्रे सवारीतर्फ पनि उच्च माग देखिएको छ। रोयल इनफिल्डका १६० युनिट, हिरो मोटोकर्पका ६० युनिट बुकिङ्ग भएका छन्।
अटो शोमा इलेक्ट्रिक सवारीप्रतिको उत्साह विशेष उल्लेखनीय रहेको आयोजकले जनाएको छ। व्यवसायीहरूका अनुसार प्रदर्शनीले उपभोक्ताको चासो र बुकिङ्ग दुवैमा नयाँ कीर्तिमान कायम गरेको छ।