आईफोन १७ सिरिज सेप्टेम्बरमा सार्वजनिक, नयाँ डिजाइन र मूल्य वृद्धिसँगै आउँदै

एप्पलको बहुप्रतिक्षित आईफोन १७ सिरिज आगामी सेप्टेम्बर ९ मा सार्वजनिक हुने भएको छ । कम्पनीले क्यालिफोर्नियास्थित एप्पल पार्कमा विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ, जसमा नयाँ आईफोन १७ तथा एप्पल वाचका नयाँ संस्करणहरू प्रदर्शन हुने अनुमान गरिएको छ ।

२०१२ यता एप्पलले हरेक सेप्टेम्बरमा नयाँ आईफोन सार्वजनिक गर्दै आएको परम्परा यसपटक पनि दोहोरिने देखिन्छ। गत वर्ष २०२४ मा आईफोन १६ सिरिज लन्च गरिएको थियो भने २०२३ मा आईफोन १५ सिरिज सार्वजनिक भएको थियो ।

नयाँ मोडल र डिजाइन

आईफोन १७ सिरिजका मोडलहरूमा ए१९ चिप र प्रो मोडलमा ए१९ प्रो चिपसेट रहने चर्चा छ। नयाँ मोडल पातलो र आकर्षक डिजाइनमा प्रस्तुत हुने अनुमान गरिएको छ, जसलाई धेरैले ‘म्याकबुक एयर जस्तै स्लिम आईफोन’ भन्ने गरेका छन्। यद्यपि, यस्तो डिजाइनले ब्याट्री क्षमतामा केही सम्झौता गरिन सक्ने संकेत पनि देखाइएको छ।

  • आईफोन १७ र प्रो : ६.३ इन्च डिस्प्ले
  • आईफोन १७ एयर : ६.५ इन्च
  • आईफोन १७ प्रो म्याक्स : ६.९ इन्च
  • मूल्य : आईफोन १६ सिरिजको तुलनामा लगभग ५० अमेरिकी डलर (७ हजार रुपैयाँ) महँगो

साथै, नयाँ प्रोसेसर, उन्नत क्यामेरा र लामो ब्याट्री जीवन जस्ता सुधारहरू अपेक्षित छन्। प्रो मोडलमा ठूलो स्क्रिन, टाइटानियम संरचना र अझ शक्तिशाली प्रविधिहरू समावेश हुने सम्भावना छ।

उत्पादन रणनीति र मूल्य निर्धारण

अमेरिकी उच्च कर नीतिले चीनबाट आयात हुने सामग्रीमा भारी ट्यारिफ लगाएकोले एप्पलले उत्पादन भारततर्फ सार्नुपर्ने स्थिति सिर्जना भएको छ। भारतमा श्रम लागत कम भए पनि आपूर्ति श्रृंखला निर्माण र प्रविधि स्थापनाका कारण उत्पादन लागत बढ्ने देखिएको छ, जसले मूल्यमा लगभग ७ हजार रुपैयाँ वृद्धि हुने अनुमान गरिएको छ।

एप्पलले आगामी वर्षहरूमा अमेरिकी बजारका लागि आफ्नै देशभित्र चिप्स उत्पादनमा करिब ६०० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ, जसले भविष्यमा मूल्य नियन्त्रणमा सहयोग पुर्‍याउने अपेक्षा छ।

विशेषज्ञहरूले भने प्रयोगकर्ताको नयाँ फोन खरिद प्रवृत्ति घटेको अवस्थामा एप्पलले आईफोन १७ मार्फत कसरी ध्यान तान्नेछ भन्नेमा विश्लेषण गरिरहेका छन्। विशेषगरी आईफोन मिनीको असफलता र आईफोन १६ प्लसको न्यून विक्रीले कम्पनीलाई सतर्क बनाएको देखिन्छ।