रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चीनमा आयोजित साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा युक्रेनमाथिको आक्रमणको बचाउ गर्दै युद्धको दोष पश्चिमी मुलुकमा हालेका छन्। उनले साढे तीन वर्ष लामो द्वन्द्वमा हजारौं मानिसको ज्यान गएको र पूर्वी युक्रेनका धेरै क्षेत्र ध्वस्त भएको स्वीकार गरे।
पुटिनले भने, “यो सङ्कट रुसले युक्रेनमाथि आक्रमण गर्दा उत्पन्न भएको होइन, बरु युक्रेनमा भएको कूको परिणाम हो, जसलाई पश्चिमी देशहरूले समर्थन र उक्साएका थिए।” उनले २०१३–२०१४ को युरोपेली क्रान्ति र त्यसपछिको रूसी समर्थक राष्ट्रपतिलाई हटाइएकामा सन्दर्भ दिँदै मस्कोले क्रिमिया प्रायद्वीप समेटेको र पूर्वी युक्रेनमा रूसी समर्थक पृथकतावादीलाई सहयोग गरेको बताए।
रूसी राष्ट्रपतिले युक्रेनलाई नाटोमा समावेश गर्ने पश्चिमी प्रयासलाई पनि द्वन्द्वको अर्को कारण बताए। उनले शिखर सम्मेलनमा विश्वलाई पुरानो युरोकेन्द्रित मोडेलको सट्टा विभिन्न देशको हितमा आधारित प्रणाली आवश्यक रहेको बताए।
सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत नेताहरू सहभागी थिए। पुटिनले चीन, भारत र अन्य रणनीतिक साझेदारहरूको प्रस्तावलाई युक्रेन सङ्कट समाधानमा महत्वपूर्ण योगदानका रूपमा मूल्याङ्कन गरे।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि मस्को र किभ दुवैलाई सम्झौतामा आउन आग्रह गरेका छन्। तर पुटिनले युद्धविरामको आह्वान अस्वीकार गर्दै युक्रेनले भू–भाग छोड्न र पश्चिमी समर्थन छोड्नुपर्ने माग राखेका छन्। किभले भने आफूले युद्ध सुरु नगरेको दाबी गर्दै ती माग अस्वीकार गरेको छ।
पुटिनले द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास र अमेरिकी वार्ताका विषयमा छलफल गर्न द्विपक्षीय बैठक गर्ने बताए। त्यसैगरी, उनले भारतीय प्रधानमन्त्री मोदी, इरानी राष्ट्रपति पेजेस्कियान र टर्कीका राष्ट्रपति एर्दोगनसँग छुट्टै वार्ता गर्ने तयारीसमेत गरेका छन्।