प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान रेलमार्गमार्फत बेइजिङ पुगेका छन्। तियानजिनमा आयोजित शाङ्हाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनका औपचारिक कार्यक्रम सकेर उनी चीनको राजधानी बेइजिङ पुगेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
तियानजिनमा आयोजित सम्मेलनमा सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका थिए।
चीन पुगेका ओली आज भने चिनियाँ उपराष्ट्रपति हान ज्हेङसँग औपचारिक भेटवार्ता गर्ने तालिका रहेको छ। प्रधानमन्त्री ओलीको यो भ्रमणलाई नेपाल–चीन सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य र बहुपक्षीय कूटनीतिक पहलमा नेपाललाई सक्रिय बनाउने अवसरका रूपमा हेरिएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
                             
                             
                            