नेपाल अब रेमिट्यान्स लिने मात्र होइन, दिने देश पनि

नेपाली अर्थतन्त्र रेमिट्यान्समा भर पर्ने कुरा अब सामान्य चर्चा होइन, स्थापित यथार्थ बनिसकेको छ। विदेशमा पसिना बगाउने लाखौँ नेपालीले हरेक वर्ष खरबौँ रुपैयाँ भित्र्याउँदा देशको अर्थतन्त्रलाई संकटमा समेत धान्ने मुख्य आधार बनेको छ।

नेपालमै सीमित रोजगारीका अवसर, कमजोर उत्पादनशीलता र सुस्त औद्योगिक विस्तारका कारण वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिट्यान्स नै अर्थतन्त्रको मेरुदण्डजस्तै बनेको छ। यसले ग्रामीणदेखि शहरी क्षेत्रसम्म परिवारको दैनिकी, शिक्षा, स्वास्थ्य, आवास निर्माण र बैंकिङ निक्षेपसम्म महत्वपूर्ण प्रभाव छोडेको छ।

तर, नेपालबाट रेमिट्यान्स बाहिरिने दर पनि पछिल्लो समय तीव्र गतिमा बढेको छ। नेपाल राष्ट्र बैंकका ताजा तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र विदेशी श्रमिकहरूले आफ्नो मुलुकमा ११ अर्ब १७ करोड २३ लाख रुपैयाँभन्दा बढी रकम पठाएका छन्। यो अघिल्लो वर्षको तुलनामा ८४.३५ प्रतिशतले बढी हो र हालसम्मकै उच्च हो। अघिल्लो वर्ष नेपालबाट ६ अर्ब ६ करोड २ लाख रुपैयाँ बाहिरिएको थियो।

सोही अवधिमा नेपालले भने १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्र्याएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले वृद्धि भएको हो।

२०७५/७६ देखि हालसम्म मात्रै नेपालबाट ५८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ। अघिल्लो आव २०७९/८० मा ६ अर्ब ६१ करोड, २०७८/७९ मा ७ अर्ब ६७ करोड, २०७७/७८ मा ६ अर्ब १ करोड, २०७६/७७ मा ५ अर्ब ४३ करोड र २०७५/७६ मा ६ अर्ब ९३ करोड रुपैयाँ विदेशी श्रमिकहरूले आफ्नो मुलुकमा पठाएका थिए।

नेपालमा विशेषगरी चिनियाँ र भारतीय श्रमिकहरू जलविद्युत्, सडक, सुरुङमार्ग र अन्य पूर्वाधार आयोजनामा संलग्न छन्। खुला सिमानाका कारण ठूलो संख्यामा भारतीय मजदुरहरू साना व्यापारदेखि ठूला निर्माण कार्यसम्म सक्रिय छन्। उनीहरूको ठूलो कमाइ भने अनौपचारिक रूपमा नेपालबाट बाहिरिने भएकाले वास्तविक बाहिरिने रकम अझै बढी हुन सक्ने अनुमान गरिएको छ।