काठमाडौँ । अण्डाको उत्पादन घट्नु र बजारमा माग बढ्नुका कारण मूल्यमा वृद्धि भएको छ। लेयर्स कुखुरापालक संघले फार्म मूल्यलाई आधार मानेर आज (वैशाख १) देखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।
संघका अनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य अब ४६५ रुपैयाँ पुगेको छ। यसअघि सोही क्रेट ४५० रुपैयाँमा बिक्री हुँदै आएको थियो, जसअनुसार १५ रुपैयाँले वृद्धि भएको हो।
त्यस्तै मझौला अण्डाको मूल्य पनि बढेर ४१५ रुपैयाँ प्रति क्रेट कायम गरिएको छ। यसअघि यो ४०० रुपैयाँमा कारोबार भइरहेको थियो।
लेयर्स कुखुरापालक संघ का अनुसार गत मंसिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको थियो। त्यतिबेला ठूलो अण्डा ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँ प्रति क्रेटसम्म पुगेको थियो।
संघका अध्यक्ष विनोद पोखरेलले कुखुरामा देखिएको रोग र बढ्दो गर्मीका कारण उत्पादन घटेको बताए। साथै नयाँ वर्षको पूर्वसन्ध्यादेखि पर्यटन तथा बजार गतिविधि बढ्दा माग पनि बढेको उनको भनाइ छ।
सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट अण्डा आपूर्ति घट्दा पनि आन्तरिक बजारमा दबाब परेको छ, जसले मूल्य वृद्धिमा थप प्रभाव पारेको हो।
संघका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा करिब १९.१२ रुपैयाँ पर्न आउँछ, जसअनुसार प्रति क्रेट लागत मूल्य झण्डै ५७४ रुपैयाँ हुन्छ। हालको मूल्य अझै लागतभन्दा कम रहेको भन्दै किसानले निराशा व्यक्त गरेका छन्।
अध्यक्ष पोखरेलले बजारको अवस्था अनुसार समर्थन मूल्य तय गर्दै आएको र आगामी दिनमा मूल्य लागत नजिक पुग्ने अपेक्षा गरिएको बताएका छन्। रासस
