आरबिबि फोकस ४० कोष सार्वजनिक, ८५ लाख इकाई सर्वसाधारणका लागि खुला

आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई भदौ १८ गतेदेखि सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको छ।

यो कोष १२ वर्ष अवधिको रहनेछ र एक अर्ब रुपैयाँ बराबरका १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो। बाँकीमध्ये १४ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र १ प्रतिशत आरबिबि मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ।

प्रति इकाई १० रुपैयाँ दरमा बिक्री खुला भएको यस योजनामा लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि निष्कासन छिटोमा भदौ २२ गतेसम्म खुला रहनेछ भने सो अवधिमा पूर्ण बिक्री नभए असोज १ गतेसम्म लम्बिन सक्नेछ।

लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयर बाट अनलाइन आवेदन दिन सक्नेछन्।

आरबिबि फोकस ४० कोषले उच्च प्रतिफल दिने सम्भावना भएका ४० वटा नेप्से सूचीकृत कम्पनीमा प्राथमिकता दिएर लगानी गर्ने योजना छ। तर आवश्यकता अनुसार ४० भन्दा बढी कम्पनीमा पनि लगानी गर्न सकिने कम्पनीले जनाएको छ।