सरकारले किसानका लागि पठाएको अनुदानको मल लुकाएर राखेको अभियोगमा उदयपुरको कटारीबाट व्यापारी दिलीप चौधरी पक्राउ परेका छन्।
अनुगमनका क्रममा २०० बोरा अनुदानको मल चौधरीको गोदाममा फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरी ६ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ।
१२ भदौमा भएको बजार अनुगमनमा चौधरीको गोदाममा अनुदानको मल लुकाएर राखिएको पाइएको थियो। फेला परेको मल अहिले सर्वदलीय सहमतिका आधारमा किसानलाई वितरण सुरु गरिएको छ।
कटारी नगरपालिका–१ देखि ७ नम्बर वडासम्म १७५ बोरा मल वितरण गरिनेछ। किसानले प्रति बोरा एक हजार रुपैयाँ तिरेर मल पाउनेछन् भने उठेको रकम नगरको राजस्व खातामा जम्मा गरिने छ।