प्रधानमन्त्री ओली चीन भ्रमणबाट आज स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट आज स्वदेश फर्कनुभएको छ ।

उत्तरी छिमेकी चीनको पाँच दिने भ्रमण सकेर उहाँ आज केहीबेरअघि काठमाडौँ पुग्नुभएको हो ।

चिनिया राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गते चीन प्रस्थान गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खडका, नेकपा एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका अधिकारीहरू रहेका थिए।

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति चिनफिङबिच शनिबार द्विपक्षीय भेटवार्ता भएको थियो। उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपाल भूमि लिपुलेकमा नेपाललाई थाहै नदिई व्यापार नाका सञ्चालन गर्ने भनी चीन र भारतबीच भएको पछिल्लो सम्झौताप्रति आपत्ति प्रकट गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले भदौ १६ गते एससीओ शिखर सम्मेलनमा सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली बेइजिङमा आयोजित ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्धको युद्ध’ को विजयोत्सवमा सहभागी पनि हुनुभयो ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुभएको हो ।