एमालेले ०८४ मा एकल बहुमत ल्याउँछ: केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले एमालेलाई ०८४ को चुनावमा बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले एकल बहुमत ल्याउने गरी पार्टीपंक्ति अगाडि बढ्नुपर्ने भन्दै सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटी साथै कार्यकर्ताहरू परिचालन गर्ने हो भने बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताए ।

उनले भने, ‘हामी गम्भिरताका साथ मिसन ८४ को लागि अगाडि बढेका छौं । अर्थात ०८४ मा एकल बहुमत ल्याउने छौं । कम्तीमा एकल बहुमत ल्याउनुपर्छ । यदी हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटी एवन कार्यकर्ताहरू परिचालन गरेर गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि रोक्न सक्दैन, बहुमत ल्याउन सक्छौँ ।

यस्तै, उनले एमालेमाथि जति नै असभ्य आरोपहरु लगाए पनि नेपाली जनताले पार्टीमाथि विश्वास गरेको कारण आज एमाले राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रुपमा रहेको बताए ।

उनले भने, ‘असभ्य आरोपहरु लगाएपनि नेपाली जनताले हाम्रा विरुद्धका त्यस्ता आरोपहरुलाई विश्वास गरेको छैन् । त्यसै कारण आज पार्टी सरकारमा छ । त्यसकारण राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रुपमा रहेका छौं । बहुमत कसैसँग छैन् । तर पनि पार्टी लोकप्रिय मतको हिसाबले प्रमुख पार्टी हो ।
साथै, आउँदो निर्वाचनमा कसैले धाँधली गर्न नसक्ने भन्दै आफ्नो पार्टी सरकारमा भएको नाताले पनि धाँधली हुन नदिने उनको भनाई छ ।

उनी भन्छन्, ‘हामी सरकारमा छौँ, आउँदो निर्वाचनमा कसैले धाँधली गर्न सक्दैन, हामी पनि सरकारमा छौ र सरकारमा भएर धाँधली रोक्ने छौँ, दृढताका साथ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ । दुष्प्रभावबाट मुक्त निर्वाचन हुनेछ ।