नेपालको स्वदेशी लक्जरी आतिथ्य ब्राण्ड सोल्टी होटल्स एण्ड रिसोट्र्सले मधेश प्रदेशको प्रमुख औद्योगिक तथा व्यावसायिक शहर बिरगञ्जमा आफ्नो नयाँ होटल “सोल्टी वेस्टेण्ड रिसोर्ट बिरगञ्ज” सञ्चालन गर्न लागेको छ।
सोल्टीको समकालीन ब्राण्ड “वेस्टेण्ड” अन्तर्गत सञ्चालन हुने यो होटल हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेको छ र बिरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक बाहुअरीमा अवस्थित छ। यो भौगोलिक स्थिति राष्ट्रिय राजमार्गसँग जोडिएको र सिमानासम्म सजिलै पुग्न सकिने भएकोले पर्यटक, व्यवसायिक पाहुना र बिदा मनाउन आउने अतिथिहरूका लागि आकर्षक गन्तव्य मानिन्छ।
नयाँ रिसोर्ट मंसिर–पुस २०८२ (डिसेम्बर २०२५) बाट सञ्चालनमा आउने तयारीमा छ। रिसोर्टमा अतिथि कोठा, आधुनिक भोजनालय, बार, क्यासिनो, स्वीमिङ पूल, हेल्थ क्लब र शान्त स्पा सहितका सुविधा उपलब्ध हुनेछन्। साथै, व्यवसायिक बैठक, सम्मेलन र सामाजिक कार्यक्रमका लागि सभाहल र बैठक कक्षहरू पनि रहेको छ।
सोल्टी होटल्स एण्ड रिसोर्ट्सका उपाध्यक्ष सुदर्शन चापागाईं र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष सुनिल कुमार खेतानबीच व्यवस्थापन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ। चापागाईंले, “बिरगञ्जमा सोल्टी वेस्टेण्ड रिसोर्टको प्रवेशले समकालीन आतिथ्य, आत्मीय सेवा र स्थानीय सांस्कृतिक अनुभवको संयोजन मार्फत ब्राण्डको विशिष्टता प्रस्तुत गर्नेछ” भनेका छन्।
यो विस्तारसँगै सोल्टी होटल्स एण्ड रिसोर्ट्सले मधेश प्रदेशमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै अतिथि र पर्यटकका लागि उत्कृष्ट सेवा प्रवाह गर्ने लक्ष्य राखेको छ।