जेनजी आन्दोलनको दोस्रो दिन काठमाडौं उपत्यकामा पेट्रोल आपूर्ति ठप्प भएको छ । सुरक्षात्मक कारण देखाउँदै आज बिहानैदेखि उपत्यकाका मुख्य स्थानमा रहेका अधिकांश पेट्रोल पम्पहरू बन्द गरिएका छन् ।
आन्दोलनका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासन र पम्प सञ्चालकहरूले पेट्रोल बिक्री रोक्ने निर्णय गरेका हुन् । यसले गर्दा बिहानैदेखि पेट्रोल भर्न आएका सयौं सवारीधनीहरू निराश हुँदै फर्किन बाध्य भएका छन् ।
लामो लाइनमा प्रतीक्षा गरेका ग्राहकहरू पम्प बन्द भएपछि आक्रोशित समेत बनेका छन् । उपत्यकामा पेट्रोल आपूर्ति कहिले पुनः नियमित हुन्छ भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन ।
यसअघि हिजो पनि उपत्यकाका विभिन्न स्थानमा आन्दोलनकारीहरूले प्रदर्शन गरेका थिए भने आज बिहानैदेखि पुनः आन्दोलन सुरु भएको छ । आन्दोलन चर्किएसँगै सामान्य जनजीवनमा थप समस्या उत्पन्न हुने संकेत देखिएको छ ।
