नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई तत्काल सरकारबाट फिर्ता हुन आग्रह गरेका छन् ।
युवाहरूको ज्यान जाने घटनापछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाएका थापाले, कांग्रेसले अब एक दिन पनि यस्तो परिस्थितिको साक्षी र साझेदार भएर बस्न नसक्ने स्पष्ट पारेका छन् ।
“रातभर सुत्न सकिन, म मात्र होइन, देशभित्र र बाहिर सिंगो नेपाल सुत्न सकेको छैन,” भन्दै उनले अबोध युवाहरूको अनाहकमा भएको मृत्युको पीडा साझा गरेका छन् । थापाले प्रधानमन्त्रीले दमनको जिम्मा लिएर तत्काल राजीनामा दिनुपर्ने माग पनि गरेका छन् ।
उनले पार्टीको बैठकमार्फत कांग्रेसलाई सरकारबाट फिर्ता गराउनेतर्फ आफू पहल गर्ने बताएका छन् । यस अभिव्यक्तिलाई कांग्रेसभित्र नयाँ शक्ति समीकरणको संकेतका रूपमा लिइएको छ ।
