सरकारले दमन गरेको घटनामा १९ जनाको ज्यान गएकाले देशभर प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरूले विभिन्न सहरका चोकहरूमा टायर बालेर र सरकारको विरोधमा नाराबाजी गरेका छन्।
मंगलबार बिहान ललितपुरको सुनाकोठीमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी गरिएको छ। साथै, माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा तोडफोड र प्रहरी बिटमा आगजनी भएको छ।
यसैबीच, रौतहटको चन्द्रपुर र सुनसरीको इटहरी नगरपालिकामा पनि आन्दोलनकारीहरूले आगजनी गरेका छन्। काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा प्रशासनले कर्फ्यु लागू गरे पनि प्रदर्शनकारीहरूले कर्फ्यु उल्लंघन गर्दै विरोध प्रदर्शन जारी राखेका छन्।
सुरक्षा अधिकारीहरूले स्थिति नियन्त्रणमा लिन प्रयासरत छन् भने नागरिकहरूलाई सतर्क रहन प्रशासनले सचेत गराएको छ।
