शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेनरेसन जेड (जेनजी) युवामाथि भएको बल प्रयोगप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले गहिरो चिन्ता व्यक्त गर्दै कडा शब्दमा निन्दा गरेको छ।
देशभरका प्रदर्शनका क्रममा १९ जना किशोर–किशोरीको मृत्यु र सयौं घाइते भएकालाई इप्पानले ‘निर्मम र बर्बर दमन’को संज्ञा दिएको छ। ऊर्जा क्षेत्रमा ३ हजार मेगावाटभन्दा बढी उत्पादन पूरा भइसकेको र ५ हजार मेगावाट आयोजना निर्माणाधीन रहेको इप्पानमा आवद्ध उद्यमीहरूले राज्यलाई वार्षिक साढे ३ अर्ब रुपैयाँभन्दा बढी रोयल्टीसहित कर तिर्दै आएका छन्। संगठनले युवा आन्दोलनमाथि गरिएको बल प्रयोगले गम्भीर निराशा पैदा गरेको बताएको छ।
इप्पानले विज्ञप्तिमा भनेको छ, “राज्य सञ्चालनका निकायहरू सिमित व्यक्तिको स्वार्थमा चलेका छन्। विकासका आयोजनामा ढिलाइ, भ्रष्टाचार र कुशासनका कारण युवाहरू सडकमा आउन बाध्य भएका हुन्।”
संगठनले २०६२/६३ को जनआन्दोलनको स्मरण गर्दै भनेको छ, “त्यसबेला १९ दिनको आन्दोलनमा १९ जनाको ज्यान गएको थियो। अहिले लोकतान्त्रिक सरकारकै पालामा एकैदिन १९ किशोर–किशोरीको मृत्यु हुनु अत्यन्तै खेदजनक छ।”
इप्पानले संविधानविपरीत भएको भन्दै शान्तिपूर्ण आन्दोलनकारीमाथि सिधै गोली चलाउनु आपत्तिजनक भएको दाबी गरेको छ।
इप्पानका तीन मुख्य मागहरू:
- घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन
- मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार
- प्रदर्शनकारीहरूको वैध मागहरूको यथोचित सुनुवाइ
संगठनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ र आवश्यक सहयोगका लागि सम्पूर्ण ऊर्जा उद्यमीहरूलाई अपिल गरेको छ।
