छिटो शान्तिपूर्ण समाधान निकालौं – सेना र प्रहरीका प्रखुसहित मुख्यसचिवको अपिल (पत्र सहित)

सोमबारदेखि देशव्यापी रूपमा भएको जेन-जी पुस्ताको आन्दोलन उत्कर्षमा पुगेको छ ।

भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा उत्रिएको जेन-जी पुस्ताको आन्दोलन थामिनसक्नु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपरेको छ ।

त्यसअघि सरकारमा सामेल कांग्रेसका विभिन्न मन्त्रीहरूले राजीनामा दिएका थिए ।

यही परिप्रेक्ष्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल सरकारका मुख्यसचिवसहित तत्काल शान्तिपूर्ण समाधान निकाल्न अपिल गरेका छन् ।

मंगलबार मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृह सचिव गोकर्णमणी दुवाडी, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापाले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत समेत भइसकेको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन उनीहरूले आग्रह गरेका छन् ।

यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौुं, विज्ञप्तिमा भनिएको छ ।