नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मुलुकमा उत्पन्न विद्यमान संकट समाधानका लागि अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार जारी विज्ञप्तिमार्फत उनले संविधानको रक्षा हुन नसके सबै वैधानिकताको अन्त्य भई राष्ट्र थप अराजकता र संकटमा पर्ने चेतावनी दिएका छन्। संविधान बाहिर सरकार गठन गर्ने प्रयास नगरी वैधानिक बाटोमार्फत मात्र निकास खोज्नुपर्ने उनको भनाइ छ।
शर्माले भनेका छन्, “विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजी पुस्ताको समेत अपनत्व र प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नु नितान्त आवश्यक छ। परिस्थिति अनुसार संविधानका सबै धाराको अक्षरशः पालना नहुन सक्छ, तर सबैलाई स्वीकार्य सरकार गठन गर्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्न जरुरी छ।”
उनले संविधान बाहिर सरकार बनेमा त्यसले राज्यका सबै निकायको वैधानिकता प्रश्नमा पर्ने र देशलाई अकल्पनीय संकटतर्फ धकेल्ने खतरा रहने उल्लेख गरे।
भ्रष्टाचारलाई मुलुककै मूल संकट ठहर गर्दै शर्माले शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी दोषीलाई कठघरामा उभ्याउनुपर्नेमा जोड दिए। उनले दुई तिहाइको भनिएको सरकार नै असामान्य परिस्थिति सिर्जना गर्ने मूल जिम्मेवार भएको आरोपसमेत लगाए।
जेनजी पुस्ताले उठाएको राजनीतिक सुधार र भ्रष्टाचार अन्त्य गर्ने आन्दोलनप्रति समर्थन जनाउँदै उनले शहीदप्रति श्रद्धाञ्जली र घाइतेप्रति स्वास्थ्यलाभको कामना गरे। आन्दोलनमा भएको दमन र नरसंहारको भत्सना गर्दै उनले स्वतन्त्र आयोगमार्फत छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
शर्माले राजनीतिक दलका शीर्ष नेताहरू परिवारवाद र कुर्सी मोहमा लिप्त भई जनताको आवाज दबाएको आरोप लगाउँदै भने, “यस्तो अवस्थाले दलहरू नै नेतृत्वविहीन जस्ता बनेका छन्। अहिले वैधानिक बाटोमै संकट समाधान खोज्नु अपरिहार्य छ।”
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            