रामेछाप जिल्ला कारागारका कैदीबन्दीले बिहीबार बिहान सामूहिक रूपमा भाग्ने प्रयास गर्दा नेपाली सेनाले गोली चलाउनुपरेको छ। घटनामा १२–१३ जना कैदीबन्दी घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कैदीबन्दीहरूले कारागारभित्रका ताला फोड्दै मुख्य गेटसम्म निस्कने प्रयास गरेका थिए। त्यसक्रममा नियन्त्रणमा लिन सेनाले गोली चलाएको उनले बताए।
घटनामा घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको थापाले जानकारी दिए।
रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्। भाग्ने प्रयास गरे पनि अहिले सबै कैदीबन्दी नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ।