नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले २०८२ भाद्र २३ र २४ गते भएका जेन जेनरेशन (GEN Z) युवा आन्दोलनका क्रममा मृत्यु भएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
पौडेलले आफ्नो वक्तव्यमा, आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमाथि प्रयोग भएको बल र स्वार्थ समूहद्वारा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडको घोर भत्सर्ना गर्दै दोषीलाई कानुनी कारबाहीमा ल्याउन उच्चस्तरीय स्वतन्त्र आयोग गठनको माग गरेका छन्। उनले राष्ट्रसेवक तथा नेताहरूमाथि भएको हमलाको पनि निन्दा गरे।
साथै, उनले देशलाई वर्तमान राजनीतिक शून्यताबाट बाहिर निकाल्न राष्ट्रिय सहमतिको अन्तरिम सरकार गठन, संविधान संशोधन, भ्रष्टाचारमुक्त राष्ट्रसेवा सुनिश्चित गर्ने आयोग गठन र दीर्घकालीन राज्य पुनर्संरचनाका उपायहरू कार्यान्वयन गर्न सुझाव दिएका छन्।
पौडेलले पार्टीभित्र पनि सुधार आवश्यक रहेको औँल्याउँदै वर्तमान नेतृत्वले राजीनामा गरी ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्।
उक्त वक्तव्यमा उनले राष्ट्रिय एकता, संयमता, संवाद र संवैधानिक मार्गद्वारा मुलुकलाई शान्ति, स्थिरता र समृद्धितर्फ डोर्याउन सबै पक्षसँग सहकार्यको अपील गरेका छन्।
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            