जेनजी प्रदर्शनपछि देशभर १३ हजारभन्दा बढी कैदीबन्दी फरार

जेन–जी पुस्ताको प्रदर्शनपछि मंगलबार र बुधबार देशभरका विभिन्न कारागारबाट १३ हजार ५ सय ७२ भन्दा बढी कैदीबन्दी फरार भएका छन्। प्रदर्शनकारीको दबाब, आगजनी र तोडफोडको कारण कैदीबन्दीले कारागारबाट भागेका हुन् भने केही आफैं नजाने भन्दै फर्केका छन्।

नख्खु कारागारबाट रवि लामिछाने, सुन्धारा कारागारबाट टोपबहादुर रायमाझी र अन्य कैदीबन्दी फरार भएका छन्। कतिपय कारागारमा हत्या, बलात्कार, अपहरण, मानव बेचबिखन लगायतका जघन्य अपराधका कैदीबन्दीसमेत फरार हुँदा पीडित परिवारमा त्रास फैलिएको छ।

काठमाण्डौं उपत्यकामा सुन्धारा केन्द्रीय कारागारबाट ३ हजार ३ सय, नख्खु कारागारबाट १ हजार ४ सय, डिल्लीबजार कारागारबाट केही कैदी फरार भएका छन्। कास्की, चितवन, महोत्तरी, कपिलवस्तु, सुनसरी, सप्तरी लगायत जिल्लाका कारागारबाट सयौं कैदी फरार भएका घटनामा नेपाली सेना र प्रहरी खटिएका छन्।

धादिङ कारागारमा सुरक्षा घेरा तोड्ने क्रममा सेनाले गोली चलाउँदा दुई कैदीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि काठमाडौं लगिएको छ। घटनामा सात जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।

नेपाल प्रहरी र सशस्त्रले फरार कैदीको खोजी जारी राखेको छ। विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीमध्ये भारतीय र अन्य विदेशी नागरिक समेत रहेका छन्। अहिले देशभर कैदीबन्दी नियन्त्रणमा ल्याउन व्यापक प्रयास भइरहेको छ।