हाल सामाजिक सञ्जालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा ठूलो मात्रामा नगद जलेको दाबी गर्दै विभिन्न भिडियोहरू फैलिरहेका छन्। यद्यपि यी दाबीहरूको आधिकारिक पुष्टि भने भएको छैन।
भिडियोमा दाहालको घरभित्र करिब ६ फुट लामो, ४ फुट फराकिलो र १० फुट उचाइको कोठामा नगद राखिएको देखाइएको बताइन्छ। अनुमानअनुसार त्यहाँ करिब २–३ अर्ब रुपैयाँ बराबरको नोट हुन सक्ने अनुमान गरिएको छ, तर नोटको दर र वास्तविक अवस्थाबारे स्पष्ट तथ्य उपलब्ध छैन। खरानीको मात्रा हेर्दा पनि पूर्णरूपमा नगदले भरिएको कोठा थिएन भन्ने प्रष्ट हुन्छ।
देउवाको घरमा भने करिब १५० वर्गफुटको स्टोररुममा दराजमा नोट राखिएको देखिएको दाबी छ। तर त्यहाँ ठूलो मात्रामा नगद वा बहुमूल्य सामान भएको ठोस प्रमाण भेटिएको छैन। केही भिडियोमा भूमिगत पानी ट्यांकीजस्तो खाडल देखिए पनि बालुवा बाहेक अन्य केही भेटिएको छैन।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा भने प्रवेशमा कडा प्रतिबन्ध भएकाले त्यहाँबारे कुनै अनुमान लगाउन कठिन छ। त्यस्तै, ऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि बोरामा राखिएको पैसा हावामा उडेको भिडियोहरू सार्वजनिक भएका छन्, तर त्यहाँ नोट मात्र राखिएको अलग्गै कोठा भेटिएको पुष्टि छैन।
यी सबै विवरण हालसम्म सामाजिक सञ्जालमा देखिएका भिडियो र स्थानीय स्रोतका कथनमा आधारित छन्। सरकारी निकाय वा सम्बन्धित पक्षले नगदको वास्तविकता र क्षतिको परिमाणबारे आधिकारिक जानकारी भने दिएका छैनन्।