वीरगञ्ज टेलिकममा आन्दोलनपछि तीन करोडको क्षति

गत हप्ताको आन्दोलनको क्रममा वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकम कार्यालयमा ठूलो तोडफोड र आगजनी भएको छ। नेपाल टेलिकम वीरगञ्जका प्रमुख पङ्कज साहका अनुसार अराजक समूहको भीडले टेलिकमका कम्प्युटर, प्रिन्टर र अन्य महत्वपूर्ण उपकरणमा करिब तीन करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ।

साहले भने, ‘‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकम कार्यालयमा आगजनी गरेका छन्। आगजनीबाट महसुल काउन्टरमा समेत ठूलो क्षति भएको छ।’’

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको क्षतिको पारदर्शी मुचुल्का तयार गर्न निर्देशन दिएका छन्। उनले भने, ‘‘जेनजी समूहको आन्दोलनको क्रममा विभिन्न सरकारी कार्यालयका भवन र सवारीसाधनमा अपूरणीय क्षति भएको छ। मुचुल्का तयार गर्दा पारदर्शिता र यथार्थपरक विवरण सुनिश्चित गर्न निर्देशन दिएको छु।’’

सुवेदीले मुचुल्का तयार गर्दा श्रव्यदृश्य र व्यवस्थित खालको दस्तावेज बनाउनुपर्ने पनि जोड दिए। वीरगञ्ज महानगर र आन्तरिक राजस्व कार्यालयमा समेत आन्दोलनको क्रममा धेरै क्षति भएको छ।