बुधबारदेखि नेप्से पुनः सञ्चालन

असोज १ गते बुधबारदेखि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सेयर बजार पुनः सञ्चालन गर्ने भएको छ। यसअघि असोज २ गतेदेखि मात्र कारोबार खुल्ने भनिए पनि नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि एक दिन अगावै बजार खोल्ने निर्णय गरिएको हो।

बोर्डका एक अधिकारीका अनुसार सबै सम्बन्धित पक्षसँग छलफल र परामर्शपछि बुधबारदेखि कारोबार सुरु गर्ने सहमति भएको हो। यसअघि नेप्सेले असोज २ गतेसम्म कारोबार बन्द रहने सूचना जारी गरेको थियो, तर बोर्डको सिफारिसपछि उक्त निर्णय खारेज गरिएको छ।

बोर्डले नेप्सेलाई आधिकारिक सूचना पठाएपछि नेप्सेले समेत नयाँ निर्णयको जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।

भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका विभिन्न शहरमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र विध्वंशपछि २४ गतेदेखि सेयर बजार बन्द रहँदै आएको थियो। अब नेप्से बुधबारदेखि नियमित कारोबारमा फर्कने छ, जसले लगानीकर्तामा उत्साह ल्याउने अपेक्षा गरिएको छ।