मुलुकको विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनासम्म २८ खर्ब रुपैयाँ पार गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति रु.२८ खर्ब ६ अर्ब ४ करोड पुगेको हो।
यसअघि २०८२ असार मसान्तमा उक्त सञ्चिति रु.२६ खर्ब ७७ अर्ब ६८ करोड थियो। एक महिनामा कुल सञ्चिति ४.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलरमा हेर्दा विदेशी विनिमय सञ्चिति २०८२ असारमा १९ अर्ब ५० करोड डलर रहेकोमा २.७ प्रतिशत बढेर साउन मसान्तमा २० अर्ब ३ करोड डलर पुगेको छ।
नेपाल राष्ट्र बैंकको भागमा पर्ने सञ्चिति २०८२ असार मसान्तमा रु.२४ खर्ब १४ अर्ब ६४ करोड थियो, जुन साउन मसान्तमा ४.० प्रतिशतले बढेर रु.२५ खर्ब ११ अर्ब ४५ करोडमा पुगेको छ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) को विदेशी विनिमय सञ्चिति असारको रु.२ खर्ब ६३ अर्ब ४ करोडबाट १२ प्रतिशतले बढ्दै साउन मसान्तमा रु.२ खर्ब ९४ अर्ब ५८ करोडमा पुगेको छ।
२०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। आर्थिक स्थायित्वका लागि यो वृद्धिलाई सकारात्मक संकेतका रूपमा लिइएको छ।