रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये सोमबार साँझसम्ममा ७०५ जना पक्राउ परेका छन्। यो जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले दिएका छन्।
उपरीक्षक तिम्सनाका अनुसार, भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न अस्थिर परिस्थितिका कारण कुल १,५७२ जना कैदीबन्दी कारागारबाट भागेका थिए। भदौ २४ गते राति १०० बढी प्रदर्शनकारीहरूले कारागार प्रवेश गरेर क्षति पुर्याउन थालेपछि कैदीबन्दी भाग्न पुगेका थिए।
कारागार प्रशासनले बाहिरबाट प्रदर्शनकारीको दबाब र भित्रका कैदीबन्दीको आगो लगाउने धम्कीका कारण प्रवेशद्वारमा सुरक्षा व्यवस्था केही खुकुलो राखेको प्रहरी उपरीक्षकले जानकारी दिए।
उनका अनुसार, कारागारमा रहेका दुई वटा ब्लकमध्ये २२७ बाहेक सबै एकैपटक १,५७२ जना कैदीबन्दी भागेका थिए। कारागारमा भारतीय तथा विदेशी ६५ जनासहित बाँकी नेपाली कैदी रहेका थिए भने सबै भारतीय कैदीबन्दी भागेका थिए।
सोमबार रातिसम्म ७०५ जनालाई नियन्त्रणमा लिइएको र बाँकी कैदीबन्दीको खोजी कार्य जारी रहेको उपरीक्षक तिम्सनाले बताएका छन्।