संविधान संशोधन कार्यदल-प्रतिवेदन खै ?

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार समेत रहेका संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले अन्तिम चरणमा पुगेको बताए।

नयाँ सरकार बनेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका क्रममा संविधान संशोधन कार्यदल, प्रतिवेदन खै ? भन्ने प्रश्नमा शाहले संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको जानकारी दिए।

‘संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको छ। यसमा अब असारको मसान्त भित्रमा यसको प्रतिवेदन बुझाउने सम्माननीय प्रधानमन्त्री समक्ष बुझाउने हाम्रो कार्यक्रम रहेको छ,’ शाहले भने।

कार्यदलले सरोकारवाला निकाय, संविधानविद् र विभिन्न राजनीतिक दलसँग छलफल गरेको र अब प्रतिवेदन तयार गर्ने क्रममा रहेको उनको भनाइ छ। ‘हामीले विभिन्न सरोकारवाला निकाय, संविधानविद्देखि लिएर सबै जनासँग हामीले छलफल गरेका छौँ। विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेका छौँ,’ उनले भने।

संयोजक शाहले प्रतिवेदन लेखनको चरणमा कार्यदल प्रवेश गरेको पनि बताए। ‘अब हामी एउटा लगभग प्रतिवेदन लेखन–लेखन तिरको अवस्थामा आइपुगेका छौँ र त्यो तयार भइसकेपछि हामीले यसको जानकारी गराउँछौँ,’ उनले भने।