थापाथलीको अटो बजार खरानीमा, दशैंअघि उद्योग ठप्प

भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ले राजधानीको प्रमुख अटो केन्द्र थापाथलीलाई विध्वंशको भयावह रूप देखायो। केही दिनअघिसम्म नयाँ ब्रान्डका गाडीले झल्केको चमक अब जलेको फलाम र खरानीमा बदलिएको छ।

आन्दोलन दोस्रो दिनमै हिंसात्मक बन्दै जाँदा करिब ३० देखि ५० नयाँ गाडी पूर्णरूपमा नष्ट भए। अटो बजारको मुटु मानिने थापाथली क्षेत्रमा आधा दर्जनभन्दा बढी शोरुममा आगजनी, तोडफोड र लुटपाटको घटना भयो।

अटो शोको उत्साहदेखि खरानीसम्म

साउनको अन्तिम र भदौको पहिलो साता सम्पन्न नेपाल मोबिलिटी एक्स्पो र नाडा अटो शोले बजारमा ठूलो उत्साह ल्याएको थियो। यी दुई अटो शोबाट मात्र वार्षिक बिक्री हुने गाडीको ४० प्रतिशतभन्दा बढी बुकिङ भएको अनुमान गरिएको थियो। दशैं–तिहारलाई लक्षित गर्दै विशेष अफर र कर्जा सहुलियतका कारण व्यवसायीहरू उच्च आम्दानीको तयारीमा थिए। तर भदौ २४ गतेको घटनाले सबै योजना ध्वस्त बनायो।

कम्पनीगत क्षति

  • सीजी मोटर्स : एक्सपेङ, स्मार्ट र एवोन ब्रान्डका १६ युनिट गाडी पूर्णरूपमा जले, एक गाडी आंशिक क्षति।

  • टाटा : थापाथली शोरुममा ४ विद्युतीय गाडी पूर्णरूपमा जले, थप २ चोरी भएका गाडी धापासी र त्रिपुरेश्वरमा जलेको अवस्थामा फेला, ३ गाडी आंशिक क्षति।

  • महिन्द्रा : ५ गाडी जले, ३ गाडी बचाइए; एउटा इभी पूर्णरूपमा नष्ट।

  • सुजुकी (सीजी मोटोकर्प) : २ गाडी पूर्णरूपमा जले, ११ गाडीमा आंशिक क्षति।

  • हुन्डाई : सिसा फुटेको, एक गाडीको भित्री भागमा आगलागी।

  • अन्य ब्रान्ड (सिट्रोन, नेटा, जीकर आदि) : आंशिक क्षति।

व्यापक असर

थापाथली बाहेक पोखरा, चितवनलगायतका केही शोरुममा पनि आगजनी र तोडफोडका घटना भए। अटो व्यवसायीहरू अहिले स्थलगत निरीक्षण र क्षतिको मूल्यांकनमा व्यस्त छन्। पुनर्निर्माणमा समय लाग्ने अनुमान छ।

दशैं–तिहार अटो बजारको मुख्य बिक्री सिजन मानिन्छ। तर, ग्राहकको उत्साह हराउँदै जाँदा आगामी महिनामा बिक्रीमा ठूलो गिरावट आउन सक्ने व्यवसायीको चिन्ता छ।

उद्योग र सरकारको चुनौती

व्यवसायीहरूका अनुसार सरकारी कारोबार र बीमा प्रक्रियासँगै क्षतिपूर्ति र सुरक्षा प्रत्याभूति आवश्यक छ। उद्योग पुनः उकास्नका लागि सरकार, निजी क्षेत्र र सुरक्षा निकायको सहकार्य अपरिहार्य रहेको उनीहरूको धारणा छ।

दुई ठूला अटो शोको उत्साहपश्चात आएको यो “कालो रात” ले हजारौं ग्राहक र उद्यमीको सपना र भरोसा भत्काइदिएको छ। दशैंको रौनक भर्नुपर्ने थापाथली अहिले जलिएका गाडी र चिसो सपनाको प्रदर्शनी बनेको छ।