नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले जेन जेड आन्दोलनपछि पार्टीलाई युवा पुस्तासँग एकीकृत बनाउने जिम्मेवारी आएको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना दिँदै पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका पौडेलले युवा पुस्ताको आकांक्षा, असन्तोष र आक्रोशलाई बुझ्न तथा सम्बोधन गर्न असफलता, प्रभावकारी भ्रष्टाचार नियन्त्रणको कमी, सुशासनको अभाव र सेवा प्रवाहमा कमजोरी नै जेन जेड आन्दोलनको मुख्य कारण भएको बताए।
पौडेलले भने, “अब पार्टीलाई जनतासँग, विशेषगरी युवा पुस्तासँग एकीकृत बनाउने जिम्मेवारी हामीमाथि आएको छ । जहाँ युवाशक्ति नीति निर्माण, नेतृत्व विकासमा निर्णायक भूमिका खेल्नेछ र परिवर्तनको प्रमुख चालक हुनेछ।”
उनका अनुसार पार्टीको संगठन, कार्यशैली र आचरणमा पनि अब आवश्यक परिवर्तन हुनेछ। उनले पार्टीका विगतका निर्णय, कार्य र त्यसका परिणामबारे गम्भीर समीक्षा गरिने बताए।
व्यक्तिगत रूपमा आफूले विगतमा गरेका कमजोरी वा गल्तीका लागि पौडेलले सार्वजनिक रूपमा क्षमायाचना पनि गरे।
