तरुण दलमा द्धन्द

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल लमजुङमा निम्तिएको विवादले जिल्ला अधिवेशन रणमैदानमा परिणत भएको छ । सदरमुकाम बेसीसहरमा भएको अधिवेशनको विवादले शनिबार एउटा समूहबाट खुकुरी नै प्रहार भएको छ ।

ज्यानै जान सक्नेगरी भएको खुकुरी प्रहारले ४ जना घाइते भएका छन्, जसमध्ये २ जनालाई उपचारका लागि चितवन रिफर नै गरिएको छ ।

पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै भएको खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा भएका हुन् ।

गम्भीर घाइते बनेका खुसीजंग र सुदीलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुई जनाको भने लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहार गर्नेहरूको पहिचान गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

अधिवेशन चलिरहेको बेसीसहर नगरपालिका वडा नम्बर ८ को प्रगति टोल समूहको भवनको सभाहल बाहिर खुकुरी प्रहार भएको हो । अधिवेशनमा भेषबहादुर समूहले प्रतिनिधि छनोटमै रोक लगाइएको भन्दै विरोध गरेका थिए ।

अधिवेशनस्थलबाट विरोध गर्नेहरूलाई बाहिर निकालेपछि कार्यक्रम स्थलको गेटबाहिर खुकुरी प्रहार भएको घाइते प्रदीपजंग बस्नेतले जानकारी दिए ।