एक महिनामा घरजग्गा कारोबार १३ प्रतिशतले घट्यो

देशभर घरजग्गा किनबेच फेरि सुस्तिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनामा घरजग्गा कारोबार १३.०५ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको हो।

गत साउनमा देशभरका मालपोत कार्यालयमार्फत ३१ हजार ६२१ वटा घरजग्गा खरिदबिक्री भए पनि भदौमा घटेर २७ हजार ४९४ मा सीमित भएको विभागले जनाएको छ। गत वर्षको सोही महिनामा ३२ हजार ७९८ कारोबार भएको थियो। चालु आवको दुई महिनामा भने कुल ५९ हजार ११५ घरजग्गा किनबेच भएका छन्।

भदौ महिनामा सबैभन्दा बढी कारोबार सुनसरीको इनरुवामा १ हजार ४०२ लिखत पारित भएको छ। त्यसपछि जनकपुरधाममा १ हजार ६०, झापाको भद्रपुरमा १ हजार २७, सप्तरीको राजविराजमा ९३७, भक्तपुरमा ९१८, मोरङको बेलबारीमा ८९३, सिराहामा ६८९, सर्लाहीको मलंगवामा ६२६, ललितपुरको लगनखेलमा ६२० र लाहानमा ६१८ वटा कारोबार दर्ता भएको छ।

कारोबार घटेसँगै राजश्व संकलनमा पनि कमी आएको छ। भदौमा घरजग्गा कारोबारबाट ३ अर्ब १४ करोड ७ लाख १६ हजार रुपैयाँ राजश्व संकलन भएको छ, जुन साउनको ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार रुपैयाँभन्दा ४.५१ प्रतिशत कम हो। यसमध्ये १ अर्ब ६३ करोड ८७ लाख ६६ हजार रुपैयाँ रजिष्ट्रेशन दस्तुर, १ अर्ब २० करोड ९२ लाख २९ हजार रुपैयाँ पुँजीगत लाभकर र २६ करोड २५ लाख ७४ हजार रुपैयाँ सेवा कर संकलन भएको विभागले जनाएको छ।

कित्ताकाट रोकिँदा घरजग्गा बजार सुस्ताएको विभागको निष्कर्ष छ। स्थानीय तहले जग्गा वर्गीकरण नगरेकाले कित्ताकाट प्रक्रिया रोकिएको र त्यसले कारोबारमा प्रत्यक्ष असर पारेको बताइएको छ। विभागका अनुसार वर्गीकरण र कित्ताकाट समस्याको समाधान नभएसम्म बजारमा सक्रियता फर्किन कठिन छ।

राजश्व संकलनमा काठमाडौं उपत्यका अगाडि छ। लगनखेल ललितपुरको मालपोत कार्यालयले सबैभन्दा धेरै ३५ करोड २३ लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ। भक्तपुरमा २८ करोड ४२ लाख २० हजार, काठमाडौंको चावहिलमा २६ करोड ९८ लाख, डिल्लीबजारमा २२ करोड ९० लाख र कलंकीमा २२ करोड २२ लाख रुपैयाँ राजश्व उठेको विभागले जनाएको छ।