घटस्थापनाको सार्वजनिक बिदा भए पनि बैंकिङ्ग प्रणालीको महत्वपूर्ण सेवा ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)’ आज सञ्चालनमा रहने भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस सेवा सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ। राष्ट्र बैंकले जारी गरेको सूचनामा अत्यावश्यक भुक्तानीहरू सहज बनाउन सेवा सुचारु गरिएको जानकारी दिइएको छ।
आरटीजीएस प्रणाली विशेष गरी उच्च मूल्यका र तत्काल सेटल गर्नुपर्ने कारोबारका लागि प्रयोग गरिन्छ। बैंक तथा वित्तीय संस्थाहरूले आपसी भुक्तानी, संस्थागत कारोबार र उच्च मूल्यका ट्रान्सफरमा यस प्रणाली प्रयोग गर्ने गर्दछन्।
यस सेवाको उपलब्धताले घटस्थापनाको बिदा भएको दिन पनि महत्त्वपूर्ण आर्थिक कारोबारमा कुनै अवरोध नआओस् भन्ने सुनिश्चित हुने जनाइएको छ।

