क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ टी–२० जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सी CAN को आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो।
पुरानो डिजाईनमा नेपालको नाम पहेँलो अक्षरमा रहेको थियो भने नयाँ जर्सीमा सेतो अक्षर प्रयोग गरिएको छ। जर्सीको मुख्य रङ्ग गाढा नीलो र रातो राखिएको छ। बाँयाँ काँधमा राष्ट्रिय झन्डाबाट चन्द्रमा र दायाँ काँधमा सूर्य अंकित गरिएको छ।
जर्सीको केन्द्रमा आधिकारिक प्रायोजक नासा सेक्युरिटीजको लोगो राखिएको छ। जर्सीको तल भागमा सांकेतिक रुपमा सगरमाथाको चित्रण गरिएको छ। CAN ले जर्सी सार्वजनिक गर्दै भनेको छ, “तपाईंको जोश लगाउनुहोस्, तपाईंको गर्व लगाउनुहोस्।”
नयाँ डिजाईनलाई एकता, शक्ति र सपना प्रतीकको रूपमा वर्णन गरिएको छ। राष्ट्रिय क्रिकेट टोलीले आगामी वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नयाँ जर्सीमा खेल्नेछ।
