वडादशैं नजिकिँदै गर्दा नेपालीहरू उत्सवको उमङ्गसँगै घुमघामको योजना बनाउन व्यस्त छन्। खुला मौसम, हरियाली दृश्य र लामो बिदाको अवसरले देशका पहाडदेखि तराईसम्मका पर्यटकीय गन्तव्यहरू आकर्षक बनेका छन्। यदि तपाईं अझै घुम्ने ठाउँ छान्न अन्योलमा हुनुहुन्छ भने यहाँ छन् यस दशैंमा अवश्य घुम्नैपर्ने १२ उत्कृष्ट गन्तव्य।
१. पोखरा
गण्डकी प्रदेशको राजधानी पोखरा प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्रा–फ्लाइट, बोटिङ, साइक्लिङदेखि हिमालको अद्भुत दृश्यसम्मको पूर्ण प्याकेज हो। लेकसाइडको चिसो मौसम, विन्दावासिनीबाट देखिने हिमाल र माछाको स्वादले पर्यटक लोभ्याउँछ।
२. लुम्बिनी
बुद्धको जन्मस्थल लुम्बिनीमा माया देवी मन्दिर, शान्त बगैंचा र विभिन्न स्तूपको अवलोकनसँगै ध्यान–योगको आध्यात्मिक अनुभव गर्न सकिन्छ।
३. सौराहा
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको सौराहामा हात्ती सफारी, राप्ती नदीमा डुंगा सयर र थारु संस्कृतिको नाच प्रमुख आकर्षण हुन्।
४. इलाम
पूर्वको हरियाली पहाड, चिया बगान र सानो पाथीभरा, कन्याम, श्रीअन्तु जस्ता स्थानले इलामलाई ‘पहाडकी रानी’ बनाउँछ।
५. पाथीभरा
३,७९४ मिटर उचाइमा रहेको ताप्लेजुङको पाथीभरादेवी मन्दिरबाट कञ्चनजंघा, मकालु, ल्होत्से लगायत हिमालको अद्भुत दृश्य देख्न सकिन्छ।
६. खप्तड
बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल खप्तड रंगीचंगी फूलका फाँट र २२ पाटनका कारण स्वर्गसरह देखिन्छ। खप्तड बाबाको कुटी, त्रिवेणी मन्दिरजस्ता धार्मिक स्थल पनि प्रसिद्ध छन्।
७. रारा
४ हजार मिटर उचाइमा फैलिएको १०.८ किमी² क्षेत्रफलको रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो। स्थल वा हवाई मार्ग दुवैबाट पुग्न सकिन्छ।
८. मुक्तिनाथ
मुस्ताङस्थित ३,८०० मिटर उचाइको मुक्तिनाथ हिन्दू र बौद्ध दुबैका लागि पवित्र तीर्थ हो। १०८ धारा र २ कुण्डमा स्नान विशेष आकर्षण हो।
९. पूनहिल
घोरेपानीको पूनहिल अन्नपूर्ण र धवलागिरी हिमालको सूर्योदय दृश्यका लागि लोकप्रिय छ। पाँच दिनको ट्रेकिङमा नेपाली र विदेशी पर्यटकको बाक्लो उपस्थिति हुन्छ।
१०. भेडेटार
धनकुटाको भेडेटारबाट सप्तकोशीको मनोरम दृश्य, मकालु र कञ्चनजंघा हिमश्रृंखला देख्न सकिन्छ।
११. बन्दीपुर
इतिहास र प्रकृतिको संगम बन्दीपुरबाट धौलागिरीदेखि लाङटाङसम्मका हिमाल स्पष्ट देखिन्छ। शान्त वातावरण खोज्नेका लागि आदर्श स्थान हो।
१२. अन्य गन्तव्य
स्वर्गद्वारी, दोलखाको कालिञ्चोक, खोटाङको हलेसी महादेव, जनकपुरधाम, मुस्ताङको लोमान्थाङ, लाङटाङ, दुधकुण्ड, घान्द्रुक, सिन्धुलीगढी र ढोरपाटन पनि दशैंमा घुम्न उत्तिकै उपयुक्त छन्।
चिसो–गर्मी नहुने मनमोहक मौसम, खुला आकाश र हरियालीले भरिएको यो दशैं बिदामा यी गन्तव्यले तपाईंको यात्रा स्मरणीय बनाउने निश्चित छ।
