राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय छिटै खाली हुनसक्ने अवस्था आएको छ। बालाजु बनस्थलीस्थित भरतमणि देवकोटाको स्वामित्वमा रहेको भवन भाडामा लिएको पार्टीले लामो समयदेखि भाडा बुझाएको छैन, जसका कारण घरधनीले कार्यालय खाली गर्न आग्रह गरेका छन्।
रास्वपा सभापती रवि लामिछाने प्रहरी अनुसन्धानमा तानिएपछि पार्टी आन्तरिक विवाद, खिचातानी र वित्तीय अपारदर्शितामा फसेको छ। यसैबीच, घरधनीले भविष्यमा पनि पार्टीले घरभाडा नतिर्न सक्ने र राजनीतिक प्रतिशोधका कारण भवन ध्वस्त पार्न सक्ने जोखिम देखेर निर्णय लिएका हुन्।
अनलाइनखबरका अनुसार विगत १० महिनादेखि पार्टीले मासिक ३ लाख ५० हजार रुपैयाँ दरको घरभाडा त पाएका छैनन्, कुल ३५ लाख रुपैयाँ भइसकेको छ। यसबाहेक देवकोटाले पार्टीलाई सापटी दिएको ठूलो रकम पनि फिर्ता पाउन सकेका छैनन्।
देवकोटालाई पार्टीले एक थान ‘अनुशासन आयोगको प्रमुख’ पद दिएको थियो, जुन सेरेमोनियल पद हो। त्यसैगरी, रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटालाई सिंहदरबारमा विज्ञ सल्लाहकारको भूमिकामा लगाइएको थियो। तर पार्टी र सरकारबाट बाहिरिएपछि देवकोटाको पैसाको हिसाबकिताब पनि गडबड हुन थालेको छ।
अहिलेसम्म रास्वपाबाट कार्यालय सार्ने वा भवन खाली गर्ने विषयमा कुनै औपचारिक जानकारी आएको छैन। राजनीतिक दलसँग गरिएको आर्थिक कारोबार र व्यक्तिगत सापटी फरक विषय भए तापनि, देवकोटाले आफ्नो दाबी अझै व्यवहारिक रूपमा बुझ्ने प्रक्रिया जारी रहेको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            