दशैंभर मनसुनको प्रभाव, असोज १४–१६ सम्म वर्षाको सम्भावना

यस वर्षको दशैंमा पनि मनसुनको प्रभाव जारी रहने भन्दै जल तथा मौसम पूर्वानुमान विभाग (DHM) ले विशेष दशैं मौसम बुलेटिन जारी गरेको छ। बुलेटिन अनुसार अष्टमीदेखि दशमीसम्म देशका धेरै भागमा छिटपुट वर्षा हुने सम्भावना छ। लगातार भारी वर्षाको खतरा भने कम रहेको विभागले जनाएको छ।

असोज १४ गते (अष्टमी) मा बागमती र गण्डकीका पहाडी भूभाग तथा कोशीका पहाड र तराईका केही भागमा हल्का देखि मध्यम वर्षा हुन सक्छ। असोज १५ गते (नवमी) मा कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा हुने पूर्वानुमान छ।

असोज १६ गते (दशमी) मा मनसुन आंशिक सक्रिय रहने सम्भावना छ। यस दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रसँगै कोशीका पहाड र तराईका केही भागमा वर्षा हुन सक्छ। मधेश र सुदूरपश्चिमका सीमित क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ।

विभागले यात्रुहरूलाई दशैं यात्रामा निस्कँदा दैनिक मौसम पूर्वानुमान र सडक अवस्थाबारे जानकारी लिएर यात्रा गर्न सुझाव दिएको छ। सामान्यतया नेपालमा मनसुन असोज १६ आसपास कमजोर हुँदै जाने भए पनि हरेक वर्ष यसको समय फरक हुने विभागको भनाइ छ।