चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म नेपालले करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरिसकेको छ। नेपाल विद्युत् प्राधिकरण (नेपाअ)का अनुसार हाल दैनिक औसत एक हजार मेगावाटभन्दा बढी विद्युत् विदेशी बजारमा निर्यात भइरहेको छ।
नेपाअका अनुसार भारतको ऊर्जा बजार इण्डियन इनर्जी एक्सचेन्ज (IEX) मार्फत डे–अहेड र रियल–टाइम मार्केटमा प्रतिस्पर्धात्मक मूल्यमा बिजुली बिक्री भइरहेको छ। त्यस्तै, द्विपक्षीय सम्झौताअन्तर्गत हरियाणा र बिहार राज्यमा पनि मध्यकालीन अवधिको विद्युत् आपूर्ति भइरहेको छ।
यस्तै, भारतको प्रसारण लाइन प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको प्राधिकरणले जनाएको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ भने बंगलादेशसम्म निर्यात हुने विद्युत् अमेरिकी डलरमा कारोबार हुने व्यवस्था गरिएको छ।
विद्युत् निर्यात बढेसँगै नेपालले विदेशी मुद्रा आम्दानीमा उल्लेखनीय योगदान पुर्याइरहेको छ। वर्षा ऋतुमा जलविद्युत् उत्पादन बढी हुने भएकाले निर्यातको मात्रा उच्च रहँदै आएको प्राधिकरणको भनाइ छ।
ऊर्जा निर्यातमा निरन्तर वृद्धि नेपालका लागि आर्थिक सन्तुलन सुधार र ऊर्जा व्यापारको दीर्घकालीन सम्भावनातर्फको सकारात्मक संकेतका रूपमा लिइएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            