अमेरिकाबाट ७ नेपाली नागरिक डिपोर्ट, TPS समाप्तिले थप जोखिम

संयुक्त राज्य अमेरिकाबाट २०२१ देखि २०२५ जुलाईसम्म सात नेपाली नागरिक गम्भीर अपराधका कारण डिपोर्ट भएका छन्। अमेरिकी आप्रवासन र सीमा सुरक्षा (ICE) का तथ्यांक अनुसार डिपोर्ट गरिएका व्यक्तिहरूले बाल यौन अपराध, हत्या प्रयास, जबर्जस्ती चोरी, हतियारसहितको आक्रमण, र मादक पदार्थको प्रभावमा सवारी चलाउने जस्ता अपराध गरेका थिए।

डिपोर्टेसन मुख्य रूपमा न्यूयोर्कको JFK, न्यूआर्क, बोस्टनको लोगन लगायतका अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिएको थियो। यसमा, २०२४ मा यौन अपराधमा दोषी ठहरिएका ३९ वर्षे पुरुष र २०२३ मा यौन अपराधमा दोषी ३६ वर्षीय पुरुष हालै डिपोर्ट भएका छन्। त्यस्तै, ३० र ३५ वर्षका दुई जना बालबालिकाको शोषणमा संलग्न ठहरिएर २०२५ को शुरूमै डिपोर्ट गरिएका थिए।

ICE का अभिलेख अनुसार, एक नेपाली नागरिक DUI (मादक पदार्थ सेवनमा सवारी) दोषसहित कतारतर्फ डिपोर्ट भएको पनि देखिन्छ, कारण स्पष्ट छैन।

सन् २०२५ मा नेपालीहरूको डिपोर्टेसन दर तीव्र रूपमा बढेको छ। केवल सेप्टेम्बर २०२५ मा मात्र ५३ नेपाली नागरिक डिपोर्ट भएका छन्। यस वर्ष जनवरीदेखि अहिलेसम्म कुल २६८ डिपोर्टेसन भएका छन्—२२६ पुरुष र ४२ महिला। उच्च मासिक संख्या मे, जुन र सेप्टेम्बर मा देखिएको थियो।

त्यसैगरी, अमेरिकी नागरिकता र आप्रवासन सेवा (USCIS) ले असोज २०, २०२५ देखि नेपालीहरूको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (TPS) समाप्त हुने घोषणा गरेको छ, जसले ७,००० भन्दा बढी व्यक्तिहरूलाई निकासीको जोखिममा पुर्‍याएको छ।

काठमाण्डौं आइपुगेका डिपोर्ट गरिएका नागरिकहरूलाई आप्रवासन विभागबाट मानव तस्करी अनुसन्धान विभागमा छोटो सोधपुछका लागि लगिने गर्दछ। अमेरिकी राजधानी वासिङटन डी.सी.स्थित नेपाली दूतावासले यात्रा कागजात उपलब्ध गराउँदै नागरिकहरूको सहज फिर्ती सुनिश्चित गर्न सहयोग जारी राखेको छ।