इसरायल र हमासबीच युद्धविरामको पहिलो चरणमा सहमति भएको छ। अमेरिकाले तयार पारेको शान्ति योजनामा दुवै पक्षले हस्ताक्षर गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्।
ट्रम्पका अनुसार यो ढाँचाको पहिलो चरण अन्तर्गत दुवै पक्षले सबै बन्धकहरूलाई छिटो रिहा गर्ने पहल गर्न सहमति जनाएका छन्। तर, हमासको निशस्त्रीकरण र गाजाको भविष्य शासन संरचनासम्बन्धी जटिल विषयहरू आगामी चरणमा छलफल हुने बताइएको छ।
गजामा दुई वर्षदेखि जारी युद्ध अन्त्यका लागि ट्रम्पले २० बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए। युद्धविरामको लागि अमेरिका, कतार, इजिप्ट र टर्कीले मध्यस्थता गरेका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, हमासले शनिबारदेखि बन्धकहरूलाई छाड्न सक्ने सम्भावना छ। सहमतिअनुसार ७२ घन्टाभित्र सबै बन्धकहरू रिहा गर्नुपर्नेछ। अक्टोबर ७, २०२३ मा गजामा २५१ जना बन्धक बनाइएका थिए, जसमा अहिलेसम्म ४८ जना हमासकै नियन्त्रणमा छन् र तीमध्ये २० जना जीवित भएको अनुमान छ।
इसरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो सम्झौतोलाई “कूटनीतिक सफलता तथा राष्ट्रिय र नैतिक विजय” भनेका छन्। हमासले पनि सम्झौताले गाजामाथि युद्ध अन्त्य, इजरायली सेनाको फिर्ता, राहत सामग्रीको प्रवेश, र बन्दी विनिमय सुनिश्चित गरेको प्रतिक्रिया दिएको छ।
यो सम्झौता सन् २०२३ को अक्टोबर ७ मा भएको हमासको अभूतपूर्व आक्रमणको दुई वर्ष पूरा भएको अवसरमा आएको हो। उक्त आक्रमणमा १,२०० जनाको मृत्यु र २५० भन्दा बढीको अपहरण भएको थियो। त्यसपछि इजरायलको प्रतिआक्रमणमा हालसम्म ६७ हजारभन्दा बढी मानिस, धेरै महिला र बालबालिका सहित, मारिएका छन्।
