नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धता अनुसार ठूला १० वाणिज्य बैंकको लेखापरीक्षण गर्न बङ्गादेशी टोली शनिबार काठमाडौँ आउने भएको छ। टोलीले आइतबारदेखि काम सुरु गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।
लेखापरीक्षणका लागि नेपाल राष्ट्र बैंकले बङ्गाली अडिट फर्म ‘हावलदार युनुस एण्ड कम्पनी’ छनोट गरेको छ। बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षणका लागि उक्त कम्पनीले ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा ठेक्का पाएको छ।
मुख्य रूपमा बैंकहरूको कर्जा गुणस्तर जाँच हुने भए पनि, परिणामपछि वित्तीय क्षेत्र नियमनका लागि केही नयाँ व्यवस्था सुझाउन सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। नेपालमा बैंकहरूले कर्जाको गुणस्तरमा पारदर्शिता नअपनाएको भन्ने आलोचना भइरहेकाले यो परीक्षण महत्वपूर्ण मानिएको छ।
लेखापरीक्षणमा बैंकहरूको जोखिम व्यवस्थापन प्रणाली, कर्जा वर्गीकरण, प्रोभिजन व्यवस्था, कर्जा असुली, आन्तरिक लेखा नियन्त्रण र कर्जा पुनर्संरचनाको प्रवृत्ति समेत विस्तृत अध्ययन गरिने छ। साथै कर्जाको उपयोगिता, कर्जा मिश्रण, र क्षेत्रगत जोखिमका आधारमा प्राथमिकता पनि जाँच हुने छ।
लेखापरीक्षणमा समावेश हुने बैंक छनोट गर्दा कर्जाको आकार, विविधिकरण र जोखिम स्तर मुख्य आधार मानिने राष्ट्र बैंकका अधिकारीहरूले बताए। प्रारम्भिक रूपमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया, प्रभू, एनएमबी र प्राइम कमर्सियल बैंक समावेश हुनेछन्। त्यसबाहेक हिमालयन बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज, कुमारी बैंक र सरकारी स्वामित्वका राष्ट्रिय, कृषि विकास र नेपाल बैंक पनि विकल्पमा छन्।
नेपाल राष्ट्र बैंकले पहिलो चरणमा १० वटा बैंकको परीक्षण गरेपछि दोस्रो चरणमा बाँकी बैंकको पनि यस्तै लेखापरीक्षण गर्ने सम्भावना रहेको बताएको छ। दोस्रो चरणको टुंगो हालैसम्म नपुगेको छ।
