आनन्द इन्डस्ट्रीजको व्यापारमा १८% वृद्धि, नाफा पनि दोब्बर

आनन्द इन्डस्ट्रीजले आफ्नो वार्षिक व्यापारमा उल्लेख्य वृद्धि गरेको छ। चामल उत्पादन र बिक्रीमा क्रान्ति ब्रान्डमार्फत सक्रिय कम्पनीले सन् २०२५ मा १ अर्ब ८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.६२ प्रतिशत बढी हो।

सन् २०२४ मा कम्पनीले ९१ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२३ मा ७६ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो। चामलको मूल्यवृद्धि र बढी मात्रामा बिक्री हुनुले व्यापार वृद्धिमा मुख्य भूमिका खेलेको कम्पनीले जनाएको छ।

गत वर्ष कम्पनीले २३ हजार २ सय ७९ मेट्रिक टन चामल बिक्री गरेको छ, जुन सन् २०२४ को २१ हजार ४ सय ६२ मेट्रिक टनभन्दा उल्लेख्य वृद्धि हो। सो अवधिमा प्रतिमेट्रिक टन चामलको मूल्य पनि ७४ हजार ९५९ रुपैयाँबाट बढेर ८५ हजार १२७ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

नाफाको दृष्टिले पनि कम्पनीले सुधार देखाएको छ। सन् २०२५ मा कम्पनीले ६.२१ प्रतिशत खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष यो दर १.५८ प्रतिशत मात्र थियो। कारोबारसँगै कम्पनीको नगद सञ्चय पनि उल्लेख्य रूपमा बढेको छ — सन् २०२४ को २ करोड २० लाख रुपैयाँबाट बढेर २०२५ मा ७ करोड ५० लाख रुपैयाँ पुगेको छ।

सुनसरीस्थित उद्योगले सन् १९७० देखि धान प्रशोधन गर्दै मनसुली, सोना, जीरा लगायतका ब्रान्डका चामल उत्पादन गर्दै आएको छ। वार्षिक २१ हजार मेट्रिक टन उत्पादन क्षमतासहित कम्पनीले बजार मागअनुसार उत्पादन विस्तारको योजना अघि सारेको छ।

वित्तीय स्थायित्वका लागि कम्पनीले ७० करोड रुपैयाँको अल्पकालीन कर्जा रेटिङ गराएको छ। चार सदस्यीय सञ्चालक समितिबाट सञ्चालित कम्पनीका निर्देशक मोतिलाल अग्रवालसँग चामल उद्योगमा चार दशकभन्दा बढी अनुभव छ। हाल कम्पनीसँग देशभर ४ सयभन्दा बढी स्थायी ग्राहक सञ्जाल रहेको छ।