युरोपको विद्युतीय अटो बजारमा बिवाइडीको नयाँ इतिहास

चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बिवाइडी ले युरोपको बजारमा ऐतिहासिक उपलब्धि हासिल गर्दै अमेरिकी अटो कम्पनी टेस्लालाई बिक्रीको आधारमा पहिलोपटक पछि पारेको छ। अटो उद्योगको विश्लेषण गर्ने संस्थान जाटो डाइनामिक्सले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२४ को अप्रिल महिनामा बिवाइडीले टेस्लाभन्दा धेरै कार युरोपमा बिक्री गरेको हो।

जाटोको तथ्यांक अनुसार अप्रिलमा बिवाइडीले ७,२३१ वटा विद्युतीय कार बिक्री गर्दा टेस्लाले ७,१६५ वटा मात्र कार बिक्री गर्न सक्यो। युरोपको अत्यन्त प्रतिस्पर्धात्मक बजारमा टेस्लालाई पछि पार्दै बिवाइडीको यो सफलता चिनियाँ कम्पनीहरूको विश्व बजारमा बढ्दो प्रभावको संकेत पनि मानिएको छ।

जाटोका ग्लोबल विश्लेषक फिलिप म्युनजका अनुसार, “वर्षौंदेखि युरोपेली बजारमा टेस्लाको दबदबालाई बिवाइडीले उछिन्नु ऐतिहासिक क्षण हो। यसको पछाडि टेस्लाका मोडल पुराना हुनुका साथै मस्कको राजनीतिसँगको संलग्नता पनि प्रमुख कारण बनेको छ।”

यसैबीच, युरोपमा विद्युतीय गाडीको समग्र माग भने तीव्र गतिमा बढेको छ। जाटोका अनुसार, सन् २०२४ को अप्रिलमा विद्युतीय गाडीको दर्ता २८ प्रतिशतले बढेको छ। तर, युरोप, अमेरिका, जापान र दक्षिण कोरियाका कार कम्पनीहरूको वृद्धि दर मात्र २६प्रतिशत देखिएको छ, जबकि बिवाइडीको वृद्धि दर ५९५ पुगेको छ, जुन सबैभन्दा उल्लेखनीय हो।