गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरुले अहिलेसम्म झन्डै २ अर्ब रुपैयाँ बराबरको दावी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दावी र भुक्तानीको प्रक्रिया तीव्र गतिमा अघि बढ्दै गएको छ।
आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको थियो। सवारीसाधनदेखि घर, पसल र अन्य संरचना जलेर नष्ट भएपछि बीमा कम्पनीहरुमा दावी पेस गर्ने क्रम बढेको हो।
प्राधिकरणका अनुसार असोज २८ गतेसम्म निर्जीवन बीमा कम्पनीहरुमा जम्मा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरका दावी पेस भएका छन्। तीमध्ये कम्पनीहरुले हालसम्म १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।
बीमा वर्ग अनुसार हेर्दा सम्पत्ति बीमा अन्तर्गत सबैभन्दा धेरै १९ अर्ब ७१ लाख रुपैयाँ बराबरका ६७३ दावी दर्ता भएका छन्। तीमध्ये १ अर्ब ५५ करोड १७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
त्यस्तै, मोटर बीमा अन्तर्गत २ हजार २५६ वटा दावी पेस भएका छन्, जसको मूल्य ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबर छ। हालसम्म कम्पनीहरुले यसमा ३६ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत ३३ करोड १८ लाख रुपैयाँ बराबरको दावी पेस भएको छ भने ३ करोड ८१ लाख रुपैयाँ भुक्तानी दिइएको छ।
परिवहन बीमा अन्तर्गत १ करोड ६३ लाख र अन्य बीमा अन्तर्गत ३८ करोड ८६ लाख रुपैयाँ बराबरका दावी पेस भएका छन्।
बीमा कम्पनीहरुमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीमा हालसम्म ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँ बराबरका दावी पेस भएका छन् भने ७८ करोड ८ लाख रुपैयाँ भुक्तानी गरिसकिएको छ।
दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले ४२ करोड २७ लाख रुपैयाँ, तेस्रोमा रहेको आइजिआई प्रुडेन्सियलले ३० करोड ७६ लाख रुपैयाँ, र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २४ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
त्यस्तै, नेको इन्स्योरेन्सले ८ करोड ३९ लाख, नेपाल इन्स्योरेन्सले ५ करोड २७ लाख, सगरमाथा लुम्बिनीले २ करोड ७९ लाख, र युनाइटेड अजोडले १ करोड ७८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएका छन्।
बीमा प्राधिकरणले दावी मूल्याङ्कन र भुक्तानी प्रक्रिया अझै जारी रहेको जनाउँदै बाँकी क्षतिपूर्ति छिट्टै वितरण गरिने जनाएको छ।

