छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रण गर्न रौतहट प्रहरीले विशेष कार्य योजना बनाएको छ ।
छठ पर्व मनाईने जलाशय क्षेत्रमा प्रहरी परिचालन गरिने र सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिने भएको छ । यहाँका महत्त्वपूर्ण र बढी भिड हुने तथा भक्तजनहरूको बढी चाप हुने छठ घाटको पहिचान गरी प्रहरीले निगरानीमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार छठघाटमा अवाञ्छित तथा आपराधिक घटना हुन नदिन सादा पोसाकमा पुरुष तथा महिला प्रहरी परिचाल गरिने छ । छठ पर्वमा प्राय परिवारका सबै सदस्यहरूले साँझपख वा बिहानीपखमा छठ माताको आर्शिवाद दर्शन तथा अवलोकन गर्न आउनेहरूको सङ्ख्या उल्लेखनिय हुने भएकाले सुरक्षा व्यवस्था कडा परिएको रौतहट प्रहरीले जानकारी दिएकोे छ ।
छठ पूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिसँग समन्वय र सहकार्य गरी सुरक्षा व्यवस्था मिलाउन जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यहाँको सुरक्षा व्यवस्था छठ पूजा समितिले आफ्नै स्वयम् सेवकबाट पनि गराउने गरेको छ ।
सूर्य उपासना अर्थात् सूर्य देवको पूजा गरी अत्यन्त निष्ठा र उत्साहका साथ नदी पोखरी र अन्य जलाशयको डिलमा (किनारमा) मनाइने छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रण गर्न विशेष कार्य योजना बनाइएको हो । छठ अवधिभरि एम्बुलेन्स, वारुण यन्त्र तयारी अवस्थामा रहने र केहि छठ घाटमा सिसिटिभीबाट पनि निगरानी गरिने जनाईएको छ ।
