काठमाडौं महानगरको ‘सिल्भर भोलिन्टियर’ कार्यक्रम सुरु

काठमाडौं महानगरपालिका (केएमसी) ले ४५ वर्षमाथिका नागरिकको ज्ञान, सीप र अनुभवलाई सहरको विकास र सामाजिक सेवामा उपयोग गर्न ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ।

महानगरले विभिन्न क्षेत्रमा लामो समय काम गरी अनुभव हासिल गरेका नागरिकलाई अवकाशपछि पनि राष्ट्र निर्माणमा सक्रिय योगदान गर्न प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको हो।

केएमसीअन्तर्गतको शहरी योजना आयोगको सचिवालय सदस्य विवेक बास्तोलाका अनुसार, यो कार्यक्रम विशेष रूपमा अनुभवी, परिपक्व र जिम्मेवार नागरिकहरूको सीपलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउने अभियान हो।

बास्तोलाले भने, “के तपाईं ४५ वर्षमाथि हुनुहुन्छ? तपाईंले कुनै जागिर वा व्यवसायबाट अवकाश पाउनुभएको छ? अब विश्राम मात्र होइन, समाज र सहरको विकासमा योगदान दिन चाहनुहुन्छ भने—आउनुहोस्, हातेमालो गरौं।”

विभिन्न क्षेत्रमा योगदानको अवसर

कार्यक्रमअन्तर्गत इच्छुक नागरिकले शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहर विकास र सम्पदा संरक्षण जस्ता क्षेत्रमा काठमाडौं महानगरसँग सहकार्य गरी काम गर्ने अवसर पाउने छन्।

महानगरले ‘केएमसी सिल्भर भोलिन्टियर कार्यविधि’ अनुसार आवेदन खुला गरेको छ। पात्र उम्मेदवारहरूले अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।

पात्रता र सेवा अवधि

कार्यविधिअनुसार, ४५ वर्षदेखि ७४ वर्ष उमेर समूहका नेपाली, गैर–आवासीय नेपाली (NRN) वा विदेशी नागरिकहरू यो कार्यक्रममा सहभागी हुन सक्नेछन्।

त्यसका लागि उम्मेदवारले कम्तीमा २० वर्षको कार्य अनुभव सरकारी, निजी वा गैर–सरकारी क्षेत्रमा हासिल गरेको हुनुपर्छ। साथै, सम्बन्धित क्षेत्रमा व्यावसायिक दक्षता र योगदान दिन सक्ने क्षमता आवश्यक छ।

सिल्भर भोलिन्टियरहरूले हप्तामा कम्तीमा पाँच घण्टा सेवा दिनुपर्नेछ, जसको अवधि एक वर्षको हुनेछ।

उनीहरूमा इमानदारीपूर्वक काम गर्न सक्ने क्षमता, कुनै आपराधिक मुद्दा नभएको, प्रचलित कानुनअनुसार अयोग्य नठहरिएको र समितिले तोकेको अन्य योग्यता पूरा गरेको हुनुपर्नेछ।

अनुभवी नागरिकको अनुभव अब राष्ट्र निर्माणमा

केएमसीका अनुसार, यस कार्यक्रमले एकातिर अनुभवी नागरिकको ज्ञान र सीपलाई देश विकासमा प्रयोग गर्ने अवसर प्रदान गर्नेछ भने अर्कोतर्फ उनीहरूलाई सामाजिक सेवाबाट सन्तुष्टि र आत्मगौरव दिनेछ।

बास्तोलाले थपे, “यो केवल स्वयंसेवी अभियान होइन, सहर र राष्ट्र निर्माणमा परिपक्व अनुभव बोकेका नागरिकहरूको पुनर्सक्रिय सहभागिता हो।”

सम्पर्क विवरण

यस कार्यक्रमबारे थप जानकारीका लागि इच्छुकहरूले ९८४८०१८२१५ नम्बरमा सम्पर्क गर्न सक्ने महानगरले जनाएको छ।