ट्रम्प–सी भेटअघि अमेरिका–चीनले व्यापार फ्रेमवर्कमा सहमति

  • Clock icon
    २०८२ कार्तिक १०, सोमबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने बहुप्रतिक्षित भेटअघि, दुई देशले सम्भावित व्यापार सम्झौताको प्रारम्भिक फ्रेमवर्कमा सहमति गरेका छन्।

आइतबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न १३औं आसियान–अमेरिका सम्मेलनको साइडलाइनमा दुई देशका उच्च अधिकारीबीच वार्ता भएको थियो। प्रारम्भिक मस्यौदामा टिकटकको अमेरिकी सञ्चालन, चीनको दुर्लभ खनिज निर्यात नियन्त्रण स्थगन, र आयात शुल्क समायोजन समावेश गरिएको बीबीसीले जनाएको छ।

फ्रेमवर्क अनुसार ट्रम्प प्रशासनले चीनमाथि प्रस्ताव गरेको १०० प्रतिशत आयात शुल्क लागू नगर्ने सम्भावना रहेको छ। चीनले पनि अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिन खरिद पुनः सुरु गर्ने संकेत दिएको छ।

दुबै देश विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन प्रयासरत छन्। ट्रम्प र सीबीच यो बिहीबार दक्षिण कोरियामा प्रत्यक्ष वार्ता हुने तय भएको छ।

व्यापार युद्धको पृष्ठभूमि:
ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकी उद्योग र रोजगारीलाई प्राथमिकता दिंदै विदेशी आयातमा उच्च शुल्क लगाउने नीति लागू गरिएको थियो, जसले चीनमाथि सबैभन्दा कडा असर पारेको थियो। चीनले पनि प्रतिवन्ध र निर्यात नियन्त्रण लागू गर्दै प्रत्युत्तर दिएको थियो। यसै महिनाको सुरुमा चीनले दुर्लभ खनिजको निर्यात नियन्त्रण कडा गरेपछि ट्रम्पले १०० प्रतिशत शुल्क घोषणा गरेका थिए।

चीनले हाल दुर्लभ खनिज प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ। यी खनिजहरू सौर्य प्यानलदेखि स्मार्टफोनसम्मका उपकरणमा प्रयोग हुने भएकाले आपूर्तिको नियन्त्रण चीनको मुख्य वार्ता–अस्त्र बनेको छ।

सोयाबिन व्यापार:
चीनले अमेरिकी सोयाबिन आयात रोक्दा अमेरिकी कृषकहरूलाई ठूलो आर्थिक क्षति पुगेको थियो। प्रारम्भिक सहमतिपछि चीनले पुनः अमेरिकी सोयाबिन खरिद सुरु गर्ने संकेत दिएको छ, जसले अमेरिकी कृषकलाई राहत दिने अपेक्षा गरिएको छ।

टिकटक सम्झौता:
फ्रेमवर्क अन्तर्गत टिकटकको अमेरिकी शाखासम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको छ। अमेरिकी कम्पनीहरूले एल्गोरिदम नियन्त्रण गर्ने र सात सदस्यीय बोर्डमा छ जना अमेरिकी हुने व्यवस्था लागू हुने तयारी छ। ट्रम्प–सी भेटमा यसमा औपचारिक सहमति जनाउने तयारी भइरहेको छ।

  • Clock icon
    २०८२ कार्तिक १०, सोमबार