काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले रोसले केही दिनअघि नै राजीनामा पेश गरेको पुष्टि गरेका छन्।
सन् २०२५ मार्चमा एक वर्षका लागि नियुक्त भएका रोसले कार्यकाल पूरा हुनुअघि नै जिम्मेवारी छोडेका हुन्। एन्फाले रोसको राजीनामाबारे औपचारिक निर्णय नलिए पनि स्रोतका अनुसार उनले व्यक्तिगत कारण देखाउँदै पदबाट हट्ने इच्छा व्यक्त गरेका थिए।
रोसको कार्यकालमा नेपालको प्रदर्शन अपेक्षाकृत कमजोर रहँदै आएको थियो। हालैका अन्तर्राष्ट्रिय मैत्री खेलहरूमा निराशाजनक नतिजा आएका कारण एन्फाभित्र पनि उनको रणनीति र टिम व्यवस्थापन क्षमताबारे प्रश्न उठेका थिए।
अब एन्फाले आगामी प्रतियोगिताहरूका लागि अन्तरिम प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ। एन्फा स्रोतका अनुसार नयाँ मुख्य प्रशिक्षक छान्ने प्रक्रिया चाँडै सुरु गरिनेछ।
