आईसीसी क्रिकेट विश्वकप लिग -२ को त्रिकोणात्मक सिरिज अन्तर्गत भएको खेलमा नेपाल युएईसँग पराजित भएको छ । बिहीबार बेलुकी सम्पन्न खेलमा घरेलु टोली युएईसँग पाँच विकेटले पराजित हुँदै नेपालले सिरिजमा लगातार दोस्रो हार बेहोरेको हो ।
जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा २ सय ३७ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । युएईको लागि अर्यान्श शर्माले सर्वाधिक ९८ रन बनाए । उनले ९८ बलमा १० चौका र ३ छक्का हिर्काए । यस्तै आलिशान शराफुले ४५, मुहम्मद वासिमले २६, ध्रुव पराशरले १६, कप्तान राहुल चोप्राले १५, हर्षित कौशिकले १३ र जहिद अलीले ११ रन बनाए ।
नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर दुई विकेट लिए । यस्तै करण केसी र दीपेन्द्र सिंह एरीले एकरएक विकेट लिए ।
यसअघि आईसीसी एकेडेमीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो । नेपालको लागि कप्तान रोहित पौडेलले सतक पूरा गरे । उनले १ सय ३० बलमा ५ चौका र २ छक्काको मद्दतमा १ सय ९ रन बनाए । यस्तै आसिफ शेखले ३५, आरिस शेखले २३ र करण केसीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।
युएईको लागि जहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिँदा जुनाइद सिद्दिकीले तीन तथा मुहम्मद रोहिद र हैदर अलीले समान एकरएक विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित भएको थियो । जितसँगै युएई १८ खेलबाट ८ अंक जोड्दै तालिकाको आठौँ स्थानमा रहेको छ भने समान खेलबाट १२ अंक जोडेको नेपाल सातौँ स्थानमा यथावत रहेको छ ।
अब नेपालले तेस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ ।
