स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई टेलिभिजन सहयोग गरेको छ।
‘जेन–जी विध्वंस’का क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी बोकेको सरकारले निजी क्षेत्रका व्यवसायीहरूबाट चार थान टेलिभिजन प्राप्त गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा सहसचिव रुद्रसिंह तामाङलाई इप्पानका उपाध्यक्ष भरत खत्री र महासचिव बलराम खतिवडाले आज टेलिभिजन हस्तान्तरण गरेका हुन् ।
सहसचिवले टेलिभिजन लिएको जानकारी मन्त्री कुलमान घिसिङलाई पनि जानकारी त पुग्छ । अब प्रश्न उठ्छ टेलिभिजन पाएकाले साहुहरुको काम हुन्छ कि हुँदैन ?
व्यवसायीहरूले उपलब्ध गराएको टेलिभिजन ग्रहण गर्दै सहसचिव तामाङले सहयोगप्रति आभार व्यक्त गरे। इप्पानका महासचिव खतिवडाले ऊर्जा मन्त्रालय निजी क्षेत्रका लगानीकर्ताका लागि सहजीकरण गर्ने थलो भएकाले आफ्नो दायित्व निर्वाह गर्ने क्रममा मन्त्रालयकै अनुरोधअनुसार सहयोग गरिएको बताए।
इप्पानले दिएको चारवटा टेलिभिजन मन्त्रालयको बैठककक्ष तथा अन्य स्थानमा राखिने जनाइएको छ। टेलिभिजन नहुँदा मन्त्रालयको बैठककक्षमा हुने प्रस्तुतीकरण प्रभावित हुने भएकाले सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरी यो सहयोग उपलब्ध गराइएको इप्पानले जनाएको छ।
‘जेन–जी विध्वंस’का कारण सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनसहित देशभरका सयौँ सरकारी संरचनामा क्षति पुगेको थियो।
अर्बौँ मूल्यका संरचना पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी बोकेको मन्त्रालयले नै निजी क्षेत्रसँग चारवटा टेलिभिजनका लागि हात थाप्नु परेको भन्दै कतिपयले आलोचना गरेका छन्।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            